काठमाडौंं ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने आश्वासन दिएका छन् ।
बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए ।
उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रावलले पनि मन्त्री शर्माले अहिले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने बताएको जानकारी दिए । साथै मन्त्री शर्माले निजामती सेवाभित्र र बाहिर नमिलेको मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताएको रावलको भनाइ छ ।