काठमाडौंं ।
आन्दोलित तल्लो तहका कर्मचारी भोलि (मंगलबार) बिदामा बस्ने भएका छन् ।
बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी नायब सुब्बा आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार देशभरका नासुले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको उनले बताए ।
असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् ।