पोखरा ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि यात्रुवाहक सवारी रग्यारेजमै थन्काउने घोषणा गरेको छ । सवारी साधनको बढाएको कर फिर्ता गर्न प्रदेश सरकार तयार नभएकाले सवरी साधन बन्द गर्नुको विकल्प नभएको व्यवसायीले बताएका छन् ।
बुधबार एक विज्ञप्ती जारी गदै महासंघ गण्डकीले आफ्ना मागहरु प्रति सरकार गैरजिम्मेवार भैदिदा यातायातका साधन बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको जनाएको छ ।
चालु आर्थिक वर्षदेखि लागू हुने गरी सरकारले सवारी साधनमा १० हजारसम्म कर बढाएको छ । व्यवसायीले यस पलिहे सरकारले दिदै आएको छुटलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।
सरकारले अपांगता भएका, ज्येष्ठ नागरिक, विद्यार्थी र जनयुद्ध/जनआन्दोलनका घाइतेलाई सार्वजनिक सवारी साधनमा छुट दिने व्यवस्था मिलाएको छ । त्यस वापत यातायात व्यवसायीले वार्षिक रुपमा तिर्नुपर्ने करमा ६० प्रतिशत कर छुट दिँदै आएको थियो । गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षबाट भने त्यसलाई ३३ प्रतिशतमा झारेको छ । त्यसमा व्यवसायीले आपत्ति जनाएका छन् ।
यस पहिले व्यवसायीले सरकारलाई सात दिन भित्र माग पुरा गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए । कोभिडले थला परेको व्यवसायलाई राहत दिनुको साटो सरकारले झन् कर वृद्धि र दिदै आएको छुट पनि कटौती गरी दुख दिएको व्यवसायीहरुको गुनासो छ ।
प्रदेश सरकरले मनोमानी रुपमा बढाएको करका विरुद्ध भएको आन्दोलन हुदाँ सबै पक्षको साथ सहयोगको अपेक्षा गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।
व्यवसायीले निजी सवारी साधन तथा पर्यटन सवारी साधन पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा सहयोग गर्न आग्रह गरेको छ ।
चौतर्फी विरोध पछि प्रदेश सरकारले सवारी नविकरणमा लगाएको दुइ सय प्रतिशत जरिवाना घटाउने निर्णय गरेको थियो ।