एजेन्सी ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति ताइवान पुगेकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् ।
राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन्। अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनले उच्च अमेरिकी अधिकारी हुन् ।
राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गर्नुभएकामा आभार व्यक्त गरिन् । उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरिन्।
कम्युनिष्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ ।















