गिरोहले फोहोरमैलाको समस्या समाधान गर्न दिँदैन : मन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैँ मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भने, ‘‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर, हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, तर यहाँ भित्रको गिरोहले ठूलो कुरा बनाएको छ ।’’

स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताए। पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको उनी बताछन् ।

सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको औँल्याए ।

मन्त्री श्रेष्ठले नाइट टूरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए। सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकले बुझाउन आवश्यक रहेको उनको भनाई छ ।

उहाँ स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग गर्न आग्रह गरे। उनले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गरे ।

मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्न नहुने धारणा राखे । काठमाडौंको विकासका लागि नयाँ ढङ्गले बहस गर्न आवश्यक रहेको उनको भनाई छ ।

  • १४ श्रावण २०७९, शनिबार १३:४५ प्रकाशित