काठमाडौं ।
जनता समाजवादीबाट लग्गिएका डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटलाई तीव्र बनाउन थालेका छन् ।
गत हप्ताको बुधबार मात्र यी दुई नेताबीच भेट भएकोमा आज पनि भेटघाटको तयारी भएको प्रचण्डको सचिवालयले जनाइएको छ । उनीको भेटघाटको समय र स्थान भने तय भइनसकेको बताइएको छ ।
प्रचण्ड बाबुराम एउटै पार्टीमा हुनेगरी सघन छलफल चलिरहेको माओवादी स्रोतले बताएको छ । प्रचण्ड बाबुराममा सैद्धान्तिक वैचारिक विषयलाई मिलाउनुपर्ने भएकाले सघन रुपमा छलफल चलिरहेको हो। बाबुराम पार्टीको नाम कम्युनिस्टै नराखेर जाने पक्षमा छन् भने प्रचण्ड नाममा कतै न कतै कम्युनिस्ट राखेर जानुपर्ने पक्षमा छन् ।
प्रचण्ड र बाबुरामबीच एक ठाउँमा हुने सैद्धान्तिक समझदारी भएमा तत्कालीन नेकपा बहुमत सचिवालय समेत एक ठाउँमा हुनेगरी छलफल चलिरहेको छ ।
जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष, नेकपा राष्ट्रिय एकता अभियान छन् । ती चार पार्टीले आगामी प्रदेश र संघको चुनावसम्म पार्टी एकता नभएपनि एकता संयोजन समिति बनाएर जाने विषयमा छलफल जारी राखेका छन् ।
उनीहरुले आगामी चुनावमा पनि एउटै घोषणापत्र ल्याउने गरी छलफल जारी राखेका छन् ।














