ज्योति र सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का, मर्जरपछि पुँजी ५ अर्ब पुग्ने

केन्द्रभाग मिडिया

मर्जरमा जाने भएपछि ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । कम्पनीहरु एक आपसमा गाभिने भएपछि सोमबारदेखि दुवैको सेयर दोस्रो बजारमा कारोबार रोक्का भएको हो । मर्जरका लागि आइतबार काठमाडौंमा आयोजित कार्यक्रमबीच दुई बीमा कम्पनीले आपसमा सैद्धान्तिक सम्झौता गरेका थिए ।

हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड र ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ छ।

मर्जरपछि संयुक्त कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९७ करोड पुग्नेछ। बीमा समितिको निर्देशन अनुसार आगामी चैत समान्तभित्र जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍यायाउनुपर्ने छ।

चुक्ता पुँजी वृद्धिका लागि बीमा समितिको यही बाध्यकारी व्यवस्थाका कारण यी कम्पनी मर्ज हुन लागेका हुन् । मर्जरपश्चात दुवैको एकीकृत कारोबार खुल्ने छ। मर्जरपछि बन्ने नयाँ कम्पनीको जीवन बीमा कोषको आकार १९ अर्ब १ करोड ७७ लाख १५ हजार रूपैयाँ पुग्ने छ ।

२ कम्पनीमध्ये ठूलो बीमा कोष भएको कम्पनी पनि सूर्या लाइफ नै हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अवधिमा आइपुग्दा सूर्या लाइफ इन्स्योरेन्सकोे जीवन बीमा कोषमा १३ अर्ब ३५ करोड ५८ लाख ८८ हजार रूपैयाँ छ ।

ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ५ अर्ब ६६ करोड ८ लाख ४७ हजार रूपैयाँ छ ।

यी कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको जगेडा कोषको आकार २ अर्ब १४ करोड ६४ लाख ८२ हजार रूपैयाँ पुग्ने छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा सूर्या लाइफको जगेडा कोषमा ५९ करोड ४६ लाख ८७ हजार रूपैयाँ र ज्योति लाइफको ५६ करोड ६८ लाख ४७ हजार रूपैयाँ रहेको छ ।

चालु आवको ९ महिनामा सूर्या लाइफले १५ करोड ६ लाख ९५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्तसम्ममा ज्योति लाइफले २० करोड ६५ लाख ९ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

सूर्या लाइफले ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रूपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

  • १३ असार २०७९, सोमबार १५:४५ प्रकाशित