काठमाडौं ।
भारतमा हुन लागेको नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लूजी) बैठकमा भाग लिन नेपाली टोली नयाँ दिल्ली प्रस्थान गरेको छ ।
गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाली टोली मंगलबार बिहान दिल्ली प्रस्थान गरेको हो । १२ औं बैठक बुधबार र बिहीबार ९जुन १५–१६, २०२२० मा भारतको राजधानी नयाँ दिल्लीमा बस्दै छ ।बैठकमा राख्ने एजेण्डाका भने नेपाल सरकारले केही सार्वजनिक गरेको छैन ।
दिल्लीमा हुन लागेको १२ औं बैठकमा नेपाली टोलीका रुपमा गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख पोखरेल संयोजकसहित परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट तीन जना सहसचिव, अध्यागमन विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, गृह मन्त्रालयका स्थानीय प्रशासन र सीमा तथा अध्यागमन शाखाका दुई उपसचिव सहभागी हुनेछन् ।
त्यस्तै भारतस्थित नेपाली राजदूतावासका काउन्सिलर, गृह मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा र परराष्ट्र मन्त्रालयका दुई शाखा अधिकृतसहित १३ जनाले भाग लिनेछन् । भारतीय पक्षबाट पनि गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोली बैठकमा भाग लिनेछ ।
जेडब्लूजी बैठक हरेक वर्ष दुवै देशले आलोपालो आयोजना गर्ने चलन छ ।भारतले दैनिकजसो नेपालको सीमा मिच्दै आइरहेको छ । सीमाका नेपालीले हरेक समय भारतको ज्यादती सहदै आएका छन् । नेपाल सरकारले भने सीमा विवादमा खासै चासो दिइरहेको छैन ।