बारा ।
बारामा सामूहिक बलात्कारबाट गर्भवती भएकी किशोरीलाई जबरजस्ती गर्भपतन गर्न लगाइएको छ ।
घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
बलात्कारपछि ती किशोरी गर्भवती भएको खुल्न आएको छ । गर्भवती भएको थाहा पाएपछि आरोपित दुवै युवकले गत शनिबार राति किशोरीलाई घरबाट जबरजस्ती गर्भपतन गराएका छन् ।
राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।
आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । तीन महिनाअघि बलात्कार भए पनि आरोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको बलात्कारबारे कसैलाई नबताएको पीडित किशोरीकी आमाले बताएकी छिन्।