काठमाडौं ।
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दाको आज सुनुवाइ हुँदैछ ।
धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।
सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो ।
यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन । नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको थियो ।
सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको थियो । सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति समेत तोकिएको थियो ।
त्यसपछि गत जेठ २० गते एआईजीपी बढुवाविरुद्धको रिटमा प्रत्यर्थी रहेका आईजीपी धिरज प्रताप सिंह र एआईजी रवीन्द्र बहादुर धानुकको म्याद तामेल गरिएको थिए । सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद बुझाएका थिए ।
डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाको विरुद्धमा गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।