तनहुँ ।
सडक भासिएपछि रातीमा सवारी सञ्चालनमा रोक लगाइएको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा रातीमा पनि सवारी चल्न थालेको छ । भासिएको सडक खण्डमा भित्ता तासेर सडक फराकिलो बनाएसँगै रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । आइतबारदेखि उक्त अवरोध हटाइएको हो ।
रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ ।