बजेट गठबन्धनको चुनावी घोषणापत्र : विष्णु पौडेल

केन्द्रभाग मिडिया

नेकपा एमालेका नेता विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् । उनले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको जानकारी दिएका हुन् ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटले बजेटको मर्ममाथि नै प्रहार गरेको उनको आरोप छ । यस्तै, मुलुकको आर्थिक अवस्थालाई बेवास्ता गरेर बजेट सार्वजनिक गरिएको समेत उनले बताए । ‘वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति ६ महिनाभन्दा धेरै आयात धान्न नसक्ने स्थितीमा छ,’ पौडेलले भने, ‘चालू खाता र शोधनान्तर खाता समेत घाटामा छ । तरलता अभाव कहालीलाग्दो अवस्थामा पुगेको छ ।’

उनले आगामी मंसिरमा निर्वाचन गर्नैपर्ने बाध्यात्मक व्यवस्था रहेकाले त्यसअघि ल्याइएको बजेट चुनाव लक्षित भएको बताए । ‘यो बजेट बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो छ,’ उनले भने, ‘मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको दस्तावेज जस्तो देखिन्छ ।’

यसका साथै, सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य समेत आधारहीन र असम्भव भएको पौडेलले बताए । बजेट र नीति तथा कार्यक्रम हेर्दा आर्थिक वृद्धिदरको लक्ष्य यथार्थपरक र सम्भाव्य हुनुपर्नेमा सरकारले क्षमताभन्दा बाहिर गएर लक्ष्य निर्धारण गरेको पौडेलको भनाइ छ । ‘यो सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक वृद्धि आधारहीन र असम्भव देखिन्छ,’ पौडेलले भने, ‘अहिलेसम्म देशमा ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर भएको छैन ।’

यसैगरी, दक्षिण एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा माथि नजाने विश्व बैंक लगायत निकायहरूले प्रक्षेपण गरेका छन् । नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाभन्दा माथि जान नसक्ने उनको भनाइ छ

  • १७ जेष्ठ २०७९, मंगलवार १२:३७ प्रकाशित