पोखरामा मनाइयो अन्तराष्ट्रिय श्रमिक दिवस

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा १३३ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने नाराकासाथ श्रम कार्यालय पोखराको आयोजनामा दिवस मनाइएको हो ।

पोखरा औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रागणमा जम्मा भएका सरोकारवालाहरुले औधोगिक क्षेत्रमा र्याली निकालेका थिए । र्यालीले औधोगिक क्षेत्र भित्री सडकको परिक्रमा गरेको थियो ।

र्याली पछि आयोजित अन्तरक्रिया कार्यक्रममा मजदुरसंग सम्बन्धित विभिन्न संघ संस्थाका अगुवाहरुले बोल्दै मजदुरहरु न्युनतम सेवा सुविधाबाट बञ्चित हुनुपरेको भनाई राखेका थिए ।

सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी गरे पनि कार्यान्वयनको अवस्थ नाजुक रहेको उनिहरुले बताए । मजदुरका संगठन एकजुट हुन नसक्दा अधिकार प्राप्तीको लडाई कमजोर भएको पनि मजदुर संगठनका अगुवाले औँल्याए ।


कार्यक्रममा बोल्दै एकिकृत ट्रेड युनियन गण्डकीका अध्यक्ष तिल बहादुर विकले श्रम आयोग गठन गरेर श्रमीकका समस्या पहिचान र समाधानका उपाय खोजि गरिनुपर्ने बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले १६ घण्टा काम गर्दा पनि मजदुरले जिविकोपार्जन गर्न नसक्ने अवस्था रहेको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरहारी शर्माले श्रमिकलाई आफ्ना अधिकार खोज्न अभिमुखिकरण गर्नुपर्ने बताए । कानुन बने पनि व्यवस्थापन पक्षले कार्यान्वय नगर्दा श्रमिकका समस्या समाधान नभएको शर्माले बताए ।

जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले व्यवसायी व्यवसायी नभएर व्यापारी मात्र भएको आरोप लगाए । व्यवसायीले मजदुरलाई न्युनतम ज्याला समेत नदिएर नाफा कमाउन मात्र खोजेको शर्माले आरोप लागाए ।

औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड पोखराका प्रमुख इश्वर पाण्डेले श्रमिक दिवशको शुभकामना दिदै श्रममैत्रि बन्न सबैलाईआग्रह गरे ।

श्रम कार्यालय पोखराका निमित्त प्रमुख लक्ष्मण बरालले श्रम ऐन २०७४ अनुसार श्रम अडिट सुरु गरिएको जानकारी दिए । पोखरा कार्यालयबाट गण्डकी प्रेदशका ११ जिल्ला हेर्नुपरेको कारण सोचे जस्तो काम गर्न नसकिएको बताएका उनले २५० फर्मको श्रम अडिट गरिसकेको जानकारी दिए ।

उजुरी परेको आधारमा न्युनतम ज्याला नदिने प्रतिष्ठानलाई कारवाही गरिएको बरालले बताए । रोजगार दाता कम्पनीले आशिंक रोजगारका नाममा श्रम शोषण गर्ने गरेकाले आशिंक रोजगारीमा नलाग्न उनले आग्रह गरे ।

श्रम कार्यालयका नासु गुरु प्रसाद पोखरेलले संचालन गरेको कार्यक्रमा कारखाना निरिक्षक विवेक कुमार यादलले स्वागत मन्तब्य राहेका थिए ।

  • १८ बैशाख २०७९, आईतवार १३:२० प्रकाशित