आज देखि एसइई सुरु, गण्डकीमा ४६ हजार विद्यार्थी सहभागी हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

आज देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री परीक्षा केन्द्रमा लगिएका उनलेले जानकारी दिए ।

एईइईका लागि देशभर दुई हजार सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार नौ सय १४ जना र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी सहभागी हुने भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका दुई सय ९९ विद्यालयका १४ हजार पाँच सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ जना विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

यता गण्डकी प्रदेशबाट ४६ हजार १ सय ९१ जना विद्यार्थी सहभागी हुदैँछन् । प्रदेशका ११ वटा जिल्लामा सञ्चालित १ हजार ३ सय ४१ विद्यालयहरुका विद्यार्थीहरुमध्ये नियमित तर्फ ४५ हजार १ सय ५५ जना, प्राविधिक तर्फ ८१५ जना र ग्रेडवृद्धि तर्फ २२१ जना विद्यार्थी रहेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका ११ जिल्ला मध्ये कास्कीबाट सबैभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुदैँछन् भने सबैभन्दा कम मनाङ जिल्लाबाट रहेका छन् ।यस वर्ष कास्कीका २९३ विद्यालयका १० हजार ६ सय २२ विद्यार्थीले एसइई दिदैँछन् ।

जसमध्ये दृष्टिविहीन ६ जना र कान नसुन्ने १४ जना विद्यार्थी रहेका छन् । यस्तै १० जनाले ग्रेडवृद्धिको लागि परीक्षा दिने भएका छन् । कास्कीमा एसइई परीक्षाका लागि ३२ केन्द्र तोकिएको छ ।

यस्तै नवलपुरका ६ हजार ८०३, तनहुँका ६ हजार ३ सय ५६, गोरखाका ४ हजार ९ सय ५ जना, लमजुङका ३ हजार २४, स्याङ्जाका ४ हजार ७७६, मुस्ताङका १८३, म्याग्दीका २ हजार २४५, पर्वतका २ हजार ३४२, बागलुङका ४ हजार ८ सय ९३ र मनाङ जम्मा ४३ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

  • ९ बैशाख २०७९, शुक्रबार ०६:४७ प्रकाशित