काठमाडौं ।
गणेशमान सिंह १० किलोमिटर रोड रेसको तेस्रो संस्करण यही वैशाख १७ गते हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले सो प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा १० किलोमिटर रोड रेससँगै पाँच किलोमिटर दौड पनि हुने आयोजकले जनाएको छ । पाँच किलोमिटर दौड योपटक थप गरिएको हो ।
बिहान ७ बजेदेखि सुरु हुने दौड काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भएर रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी दरबारको दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, नेपाल प्रहरी हेडक्वार्टरको दक्षिण गेट, गैरीधारा, नारायणहिटी दरबार उत्तरपूर्व मोड, नागपोखरी, जयनेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल पुगेर सम्पन्न हुनेछ ।
पाँच किलोमिटर दौडमा पनि पुरुष र महिला दुवैको समभागिता हुने आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले जनाएको छ । पाँच किलोमिटर दौड पनि दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भई रत्नपार्क, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी दरबार दक्षिण गेट हुँदै पुनः शेर्पा मलमा पुगेर सम्पन्न हुनेछ ।
१० किलोमिटर रोड रेसको महिला र पुरुष दुवैका विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
पाँच किलोमिटरको पुरुष र महिला दुवैका विजेता १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले सात हजार, चौथो हुनेले पाँच हजार र पाँचौँ हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थान हासिल गर्नेले गिफ्ट ह्याम्पर पाउनेछन् ।
नयाँ कीर्तिमान बनाउने पहिलो खेलाडीलाई १० हजार रुपैयाँ नगदबाट सम्मान गरिनेछ ।