काठमाडौं ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ। यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भर्न लागेको निगमले जनाएको छ।
साउदीको रियादमा उडान भर्ने अनुमति पाएको निगमले त्यहाँको अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको जनाइएको छ। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ।
सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएको छ। काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ।
निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो।














