मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेपछि सभापति गगनकुमार थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका हुन्। भेटमा सभापति थापाले रिजालको अनुभव र ज्ञानलाई पार्टी निर्माणमा उपयोग गर्नुपर्ने भन्दै पदाधिकारीमा प्रतिस्पर्धा नगरी पार्टीभित्रै बसेर सहयोग गर्न आग्रह गरेका थिए ।

थापाले आफू सभापतिको हैसियतमा रिजालसँग सँगै बसेर काम गर्न चाहेको बताएका थिए । नयाँ पुस्ताले पार्टीको नेतृत्व गरिरहेको अवस्थामा रिजालको अनुभव र ज्ञान पुस्तान्तरणका लागि पुल बन्न सक्ने उनको भनाइ थियो । ‘दाइको उपस्थिति नेपाली कांग्रेस पार्टीभित्र र हाम्रो जेनेरेसनले पार्टी लिड गर्दै गर्दा पनि त्यो अनुभव, ज्ञानको साथमा अझै सशक्त उपस्थिति हुनुपर्छ भन्ने ठान्छु,’ थापाले भनेका थिए, ‘यो बेलामा सँगै बसेर काम गर्ने कुराको लागि मेरो रिक्वेस्ट पनि छ ।’

थापाले पार्टीमा महत्वपूर्ण योगदान गर्न सक्ने नेताका लागि पदाधिकारी नै बन्नुपर्ने अवस्था अन्त्य गरी पार्टीभित्र काम गर्ने पर्याप्त ठाउँ बनाउनुपर्ने धारणा पनि राखेका थिए । त्यसपछि रिजालले कांग्रेसलाई योगदान गर्नु नै आफ्नो प्राथमिकता रहेको भन्दै आफू पदका लागि उम्मेदवार नबनेको बताएका छन् । उनले थापाको नेतृत्वमा कांग्रेसलाई बलियो बनाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘आजको दिनमा जहाँ हामी पुगेका छौँ, गगन थापाबाट सम्भव भयो भने सम्भव छ, अरू कसैबाट सम्भव छैन,’ रिजालले भनेका छन्, ‘त्यसैले तिमीलाई सहयोग गर्छु। तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भनेर पनि यहाँ आएको छैन ।’

रिजालले आफूलाई अब पार्टीको केन्द्रीय समितिमा पद खोजिरहने आकांक्षा नरहेको स्पष्ट पारेका छन्। उनले आफ्नो राजनीतिक यात्राको यो चरणमा पदभन्दा पार्टीको पुनर्निर्माणलाई प्राथमिकता दिने संकेत गरेका छन् । ‘मेरो यो पाली पद खोजिरहने पार्टीको केन्द्रीय समिति त्यो यात्रा टुंगियो,’ उनले भनेका छन्, ‘हामीले त्यसलाई औपचारिक रूपमा भोलि गएर आफ्नो मनमा फेर्ता लिनेछौं ।’

कांग्रेसको ‘आत्मा फर्काउनुपर्ने’ आफ्नो मुख्य आकांक्षा रहेको बताउँदै रिजालले थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन आफूले सहयोग गर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापतिका लागि दुई पदमा रिजालसहित डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा। चन्द्रमोहन यादवले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारको दाबी–विरोध तथा उम्मेदवारी फिर्ताका लागि बुधबारको समय तोकिएको छ । रिजालले सोही अवधिमा आफ्नो उम्मेदवारी फिर्ता लिने तयारी गरेका हुन्। बिहीबार उपसभापति पदका लागि मतदान हुँदैछ ।

  • २१ आश्विन २०८३, बुधबार १०:२७ प्रकाशित