नेकपा ‘एस’ ले कर्णालीमा पाँच स्थानीय तह पाउने पक्का

केन्द्रभाग मिडिया

सुर्खेत ।

स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले पाँच स्थानीय तह पाउने भएको छ ।

सत्ता गठबन्धनले तय गरेको भागबण्डा मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको हो ।मंगलबारको सहमति कार्यान्वयन भएमा कर्णालीका ७९ पालिकामध्ये पाँच पालिकाको उम्मेदवार नेकपा एसले पाउने निश्चित भएको हो ।

एमालेबाट फुटेर नेकपा एसमा लागेका पालिका प्रमुख भएको स्थानीय तहमा नेकपा एसकै उम्मेदवार बनाउने गठबन्धनको सहमति भएको छ । जसअनुसार कर्णालीका ६ जिल्लाको स्थानीय तहमा भने नेकपा एसले वडामै चित्त बुझाउनुपर्ने भएको छ ।

मापदण्डअनुसार दैलेखको महावु गाउँपालिका अध्यक्ष र उपाध्याक्ष नेकपा एसमा लागेका छन्, जहाँ आगामी चुनावमा पनि नेकपा एसले नै उम्मेदवारी पाउनेछन् ।कालिकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एसले नै टिकट पाउनेछ।

यहाँ एक उपाध्यक्ष, एक नगर उपप्रमुख र १२ वडाअध्यक्ष नेकपा एसमा लागेका छन्, उनीहरुले सोहीअनुसार उम्मेदवारको भाग पाउनेछन् ।सल्यानमा पनि एक पालिकामा अध्यक्ष, एक उपाध्यक्ष र १९ वडा अध्यक्षको उम्मेदवार नेकपा एसले पाउनेछ ।

डोल्पाको ठूलीभेरी नगरपालिका पनि नेकपा एसको भागमा परेको छ । यो जिल्लामा ८ वडा अध्यक्ष समाजवादीमा गएका कारण नेकपा एसले टिकट पाउने सम्भावना बढी छ ।

त्यस्तै नारायण नगरपालिकाको उपप्रमुख पनि नेकपा एसमा छन् । ठाँटीकाँध गाउँपालिकाको उपाध्यक्ष पनि समाजवादीले पाउने भएको छ । यस्तै सो पार्टीले ११ वडाको नेतृत्व गर्न पाउनेछ ।

मुगुमा एक उपाध्यक्षमा मात्रै समाजवादीले चित्त बुझाउनुपर्नेछ भने यहाँ सात वडा अध्यक्षमा समाजवादीको दाबी रहनेछ । जुम्लामा पनि एक गाउँपालिका उपाध्यक्ष र ११ वडाअध्यक्ष नेकपा एसले पाउने भएको छ।

  • ३० चैत्र २०७८, बुधबार ०९:३० प्रकाशित