पोखरा ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलहरु उम्मेद्वार छान्न व्यस्त छन् । कठबन्धन दलहरु आपसी छलफलमै रहेको बेला एमालेले उम्मेद्वार टुंग्याउने क्रम सुरु गरिसकेको छ । स्याङ्जाको पुतललीबजार नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका लागि सात जनाले आकांक्षा व्यक्त गरेका छन् ।
बहालवाला मेयर सिमा क्षेत्री, उपमेयर महेश पुरी, एमाले प्रदेश कमिटी सदस्य दीपक लम्साल, जिल्ला कमिटी उपसचिव तारा शर्मा, जिल्ला कमिटी सदस्य अनन्त कुमार श्रेष्ठ, जिल्ला कमिटी सदस्य दोवबहादुर कार्की र क्षेत्र नम्बर १ क्षेत्रीय कमिटी अध्यक्ष खड्गराज सुवेदी मेयरका आकांक्षी हुन् ।
पुतलीबजारकी मेयर सिमा क्षेत्रीले आफूले आफ्नो कार्यकालमा राम्रो काम गरेको भएपनि कोरोना कहर लगायतका विभिन्न कारणले केही काम अधुरा रहेको भन्दै त्यसलाई पुरा गर्न पनि आफू दोहारिन चाहेको बताइन् । उनले गठबन्धनलाई परास्त गर्न पनि आफू मेयर हुँदा धेरै सजिलो हुने धारणा राखिन् ।
उपमेयर महेस पुरीले आफू स्वभाविक रुपमा मेयरको दाबेदार रहेको बताए । पाँच वर्षसम्मको अनुभव र आफूहरुले थालेका कामलाई पुरा गर्न पनि आफू मेयरमा जान चाहेको उनको भनाई छ ।
आठ वटा वडामा वडाध्यक्ष उम्मेद्वार टुंगिए
एमालेले पुतली बजारका १४ वडा मध्ये अधिकांसमा उम्मेद्वार टुंग्याईसकेको छ । वडा नम्बर १ बाट वडाध्यक्षमा निर्मल सेरचन, २ बाट भीम गुरुङ, ४ मा रुद्ध पोखरेल, वडा नम्बर ६ मा खेम गुरुङ, वडा नम्बर ९ मा लीलप्रसाद गुरुङ, वडा नम्बर १० मा विष्णु थापा, वडा नम्बर १२ मा दुधप्रसाद गुरुङ, १३ मा जुद्धबहादुर थापालाई वडाध्यक्षमा उठाउने टुंगो भएको एमाले जिल्ला कमिटी सदस्य अनन्त श्रेष्ठले जानकारी दिए ।
वडा नम्बर ३, ५, ७, ८, ११ र १४ नम्बर वडामा टंग्याउन बाँकी छ । मेयरका आकांक्षी रहेका जिल्ला कमिटी सदस्य अनन्त श्रेष्ठले मेयर र उपमेयरको उम्मेद्वारको टुंगो भने भोलीसम्म लाग्ने जानकारी दिए ।