पोखरामा खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा २० औँ संस्करणको खुल्ल प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो । यही चैत्र २३ देखी २५ गतेसम्म प्रतियोगिता हुन लागेको संस्थाका महासचिव एवं प्रतियोगिताका संयोजक बलरामा आचार्यले जानकारी दिए ।

एकुरेसी च्याम्पीयनसिप तर्फका ६ विधामा प्रतियोगिता आयोजना गरिएको आचार्यले बताए । सोलो ल्याण्डीङ, सोलो ल्याण्डीङ (महिला), टिम एकुरेसी सोलो ल्याण्डीङ, एकुरेसी टेण्डम ल्याण्डीङ, एकुरेसी टिम टेण्डम ल्याण्डीङ, एयरसो ओभरअलमा पाइलटले प्रतिष्प्रर्धा गर्ने छन् ।

खेलाडीले पोखरा–१८ सराङकोटबाट उडान भरेर फेवा किनारमा ल्याण्ड गर्ने छन् । संस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले खेलकुदको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटन प्रबद्धन गर्न प्रतियोगिता आयोजना गदै आएको बताए ।

यस पहिले नाले एफएआइबाट अन्तराष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता गदै आएकोमा यस पटक भने कोरोनाका कारण त्यो सम्भव नभएको जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पर्यटन बोर्ड पोखराका प्रवन्धक नबिन पोखरेलले पोखरा साहसिक खेलकुदका लागि आकर्षक गन्तब्य बनेको बताए । नेपालकै प्रमुख पर्यटकिय शहर भएकाले यस्ता प्रतियोगिताले पर्यटन प्रवद्धनमा टेवा पुग्ने पोखरेलले विश्वास व्यक्त गरे ।

नाले यस पहिले अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता पनि सम्पन्न गरिसकेको छ ।

नाका सचिव माधव तिवारीले कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता सफल हुने आशा व्यक्त गरे ।
प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाईलट्स क्लवको सहयोग रहेको छ ।

प्रतियागितामा बिजेता खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

  • १७ चैत्र २०७८, बिहीबार १७:४७ प्रकाशित