काठमाडौं ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुलाएको छ ।
नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण गर्ने गर्दै आएको थियो ।
प्रवक्ता प्रकाशशरण महतले विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए ।
महाधिवेशनको मुखमा मात्रै सदस्यता वितरण र नवीकरण गर्ने पूरानो अभ्यासलाई तोड्ने प्रयासस्वरुप विधानको व्यवस्थाबमोजिम सदस्यता खुला गर्ने निर्णय भएको कांग्रेसले बताएको छ ।
कांग्रेस विधानको धारा ४ ले कांग्रेसका दुई खाले सदस्य हुने व्यवस्था गरेको छ— पहिलो साधारण सदस्य र अर्को क्रियाशील सदस्य । १८ वर्ष उमेर भएका, कांग्रेसको आदर्श, उद्देश्य र विधानमा आस्था भएको व्यक्तिलाई साधारण सदस्यता दिने व्यवस्था छ । साधारण सदस्यता प्राप्त गरेको एक वर्ष पूरा भएपछि त्यस्तो व्यक्तिलाई तोकिएको फारम भराई शुल्क लिएर क्रियाशील सदस्यता दिने व्यवस्था छ ।
हाल कुन प्रदेशमा कति छन् क्रियाशील सदस्य ?
प्रदेश १ – १,७४,८१३
प्रदेश २ – १,००,९९९
बाग्मती – १,८६,३३५
गण्डकी – १,१८,१४५
लुम्बिनी – १,३१,११७
कर्णाली–५३,५९६
सुदुरपश्चिम–७५,१०१