काठमाडौं ।
नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । सो सडक अन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले १३ मंसिर देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने जानकारी गराएको हो ।
पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए ।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ ।
गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो ।
ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए ।
शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।












