पोखरा ।
पोखरा पर्यटन परिषदले वर्षेनी गर्दै आएको दाइँ महोत्सवको तेस्रो संस्करण लेखनाथको नौविसे टोलमा हुने भएको छ । पोखराको पर्यटनलाई बाह्रै महिना चलायमान बनाउने र परम्परागत कृषि संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित लेखनाथको नौविसे टोलमा तेस्रो संस्करणको महोत्सव गर्न लागिएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
पोखरा पर्यटन परिषद्को आयोजनामा यही १२ मंसिरको शनिबार पोखरा महानगरपालिका–२९, लेखनाथस्थित नौविसे टोलमा महोत्सव हुनेछ । बिहान ९ बजेदेखि सुरु हुने महोत्सवमा परम्परागत दाइँ गर्ने शैलीसँगै ग्रामीण जीवनशैली, कृषि संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सव आयोजक संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
वर्षभरि पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्ने अवधारणासहित दाइँ महोत्सव सुरु गरिएको हो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारालाई सार्थक बनाउन पर्यटनका नयाँ गतिविधि र स्थानीय मौलिकतालाई जोड्दै महोत्सवलाई निरन्तरता दिइएको अध्यक्ष भुजेलले बताए ।
पोखरामा बढ्दो सहरीकरणसँगै स्थानीयवासीको जीवनशैली परिवर्तन हुँदा परम्परागत खेती प्रणाली र कृषि संस्कृतिसमेत हराउँदै गएको छ । नयाँ पुस्तालाई पुर्खाले अपनाउँदै आएको खेतीपातीको शैली, श्रम संस्कृति र ग्रामीण जीवनसँग परिचित गराउनु महोत्सवको महत्वपूर्ण उद्देश्य रहेको अध्यक्ष भुजेलको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोस पोखरेलले महोत्सवले पोखराको पर्यटनलाई ताल, हिमाल र साहसिक गतिविधिमा मात्र सीमित नराखी कृषि तथा ग्रामीण पर्यटनसँग जोड्ने अपेक्षा गरिएको बताए । उनले यसबाट पोखरा आसपासका खेतीयोग्य जमिनको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई आफ्नो पेसाप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने विश्वास प्रकट गरे ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले पर्यटकीय राजधानी रहेको पोखरामा यस्ता खालका महोत्सवले अर्थतन्त्र चलायमान गराउनुका साथै पुरानो संस्कृति, सिप र रहनसहनलाई नयाँ पुस्तामा उजागर गर्न मद्दत पुग्ने धारणा राखे । महोत्सवको सफलताको कामना गर्दै उनले महानगर यस्ता कामका लागि सधैं साथमा रहेको सुनाए ।
महोत्सवका संयोजक हरिराम अधिकारीले महोत्सवमा पर्यटन व्यवसायी, वडा स्तरीय कृषि सञ्जाल, कृषक तथा स्थानीय नागरिकको सहभागिता रहनेछ । कृषि र पर्यटनलाई एकअर्काका परिपूरकका रूपमा विकास गर्दै स्थानीय समुदायको आर्थिक गतिविधि बढाउने महोत्सवको लक्ष्य रहेको बताए ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष पनि धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी परम्परागत कृषि जीवनसँग जोडिएका धान चुट्ने, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी अतिथिहरूलाई स्थानीय उत्पादन उपहार प्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ ।
परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने, युवालाई कृषि पेसामा आकर्षित गर्ने र ग्रामीण संस्कृतिलाई पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्ने अभियानमा महोत्सवले योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।













