मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : ४ मन्त्रीको वरीयता घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम ती निर्णयहरू गरिएको जानकारी गराएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो। सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

मर्यादाक्रम फेरबदल गरेर ७ औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो नम्बरमा बढुवा भएकी छन् ।

उनको मर्यादाक्रम सुधार भएसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मर्यादाक्रममा तल परेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको मर्यादाक्रम अनुसार खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ मर्यादाक्रममा रहेका छन् ।

१७ सदस्यीय मन्त्रिपरिषद्‌मा अन्य मन्त्रीको मर्यादाक्रम भने यथावत् राखिएको छ ।

  • १० मंसिर २०८३, बिहीबार १६:५१ प्रकाशित