काठमाडौं ।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
महोत्सव आयोजक समितिको आयोजनामा, नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपाल आउन लागेको हो ।
महोत्सवमा जापानकी चर्चित हिपहप कलाकार मम्मी–डी सहित नेपाली सांगीतिक समूह कववेभ, कुटुम्ब र सबिन राई एन्ड द फारोहलगायतका कलाकारले पनि विशेष प्रस्तुति दिनेछन् ।
सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसँगै महोत्सवले मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रमका क्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।
सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा दुई देशबीच निरन्तर सहकार्य हुँदै आएको छ । महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ ।
महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
सात दशक लामो नेपाल–जापान मित्रतालाई सांस्कृतिक उत्सवमार्फत थप मजबुत बनाउने उद्देश्यले आयोजना हुन लागेको महोत्सवले नेपाली र जापानी समुदायबीच आपसी सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













