एनपीएल

विराटनगर किंस समूह चरबाट बाहिरियो, यी हुन् प्लेअफ खेल्ने चार टोली

केन्द्रभाग मिडिया

काठमाडौ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफ खेल्नेछन् । शनिबार साँझ सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै विराटनगरको यात्रा सकिएसंगै प्लेआफ खेल्ने चार टालीको टुंगो लागेको हो । यससंगै पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगको यात्रा समूह चरणबाटै सकिएको छ ।

विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनरद्वय डा’र्सी शर्ट र आसिफ शेखले ४५–४५ रनको योगदान दिए ।

यस्तै, अलि शेखले २७ तथा सन्दीप जोराले नटआउट २५ रन जोडे । ११ बल खेलेका उनले ३ छक्का र १ चौका प्रहार गरे । अन्तिममा छक्का प्रहार गर्दै लुम्बिनीका रुवेन ट्रम्पलमानले खेल सकाइदिए ।

बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन जोड्यो ।

चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६४ रनको योगदान दिए । शुभम रन्जानेले अविजित ३१ रन बनाए ।

इमरान शेखले २४ रन जोडे । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिए । लोकेश बमले १५ रन जोडे । बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए ।

  • २८ कार्तिक २०८३, शनिबार २१:५५ प्रकाशित