काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफु अर्को पटक भोट माग्न नआउने बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभाति लामिछानेले मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन नेता तथा कार्यकतालाई आग्रह समेत गरे । जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफुलाई आवश्यक नरहेको उनको टिप्पणी थियो ।
पार्टी र सरकारकाबीच कुनै पनि समस्या नरहेको दाबी गरेका उनले सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुनेगरेको चर्चा गरे । त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको उनको भनाई थियो ।
उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाले आफनै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रुपमा बुझ्न आग्रह गरे ।
रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरुलाई सकारात्मक रुपमा लिने गरेको उनको भनाइ छ ।












