काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्नेछन् । लुम्बिनीले प्लेअफमा स्थान बनाइसकेको छ ।
उसले खेलेको ६ खेलमध्ये चार खेलमा जित र एक खेलमा अंक बाड्दै तालिकामा ९ अंक जोडेर दोस्रो स्थानमा छ । त्यसकारण आज ऊ दबाबरहित हुँदै मैदान ओर्लने छ । विराटनगरका लागि भने प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ।
विराटनगर ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । उसले आजको खेल जितेर मात्रै पुग्नेछैन । लिगका बाँकी खेलको नतिजाले पनि विराटनगर प्लेअफमा पुग्ने नपुग्ने तय हुनेछ ।
लिग चरणका पूरै सात खेल खेलिसकेको सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ । चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन् । काठमान्डुले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमान्डु पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ । तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ ।
अझ विराटनगरका लागि जित निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ । अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ । आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ ।













