सृजनामा विज्ञान हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा–८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलको अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तरसदनात्मक विज्ञान हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

विद्यालयका विज्ञान विभाग प्रमुख एवम् भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त प्रतियोगिता कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका लागि तहगत तथा कक्षा २ र ३ का विद्यार्थीहरूका लागि कक्षागत रूपमा सञ्चालन गरिएको थियो । विद्यालयको सभाहलमा सञ्चालित उक्त प्रतियोगितामा विद्यार्थीहरूले विज्ञानसम्बन्धी विभिन्न प्रश्नहरूको उत्साहपूर्वक जवाफ दिएका थिए ।
प्रतियोगिताअन्तर्गत कक्षा ९ र १० को समूहबाट हरियो सदनले प्रथम स्थान हासिल गर्दा पहेँलो सदन द्वितीय हुन सफल भयो भने निलो सदनले तृतीय स्थान प्राप्त ग¥यो ।

यसैगरी, कक्षा ६ देखि ८ सम्मको प्रतियोगितामा हरियो, नीलो र पहेंलो सदनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । कक्षा ४ र ५ को प्रतियोगितामा रातो, नीलो र पहेंलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय भए । त्यसैगरी, कक्षा ३ बाट हरियो सदन प्रथम, पहेंलो सदन द्वितीय र रातो सदन तृतीय हुन सफल भए भने कक्षा २ बाट हरियो सदन प्रथम, रातो सदन द्वितीय र नीलो सदन तृतीय भए ।
प्रतियोगितामा विजयी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै तिहार बिदापछिको विद्यालयको प्रातःकालीन सभामा टीका तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने विद्यालयका सल्लाहकार कृष्ण घिमिरेले जानकारी दिए ।

प्रतियोगिताको कक्षा ९ र १० तर्फ पदमराज बस्ताकोटी, कक्षा ६ देखि ८ तर्फ अनिता शर्मा बराल, कक्षा ४ र ५ तर्फ अनिता भण्डारी, कक्षा ३ तर्फ चन्द्रा रानाभाट तथा कक्षा २ तर्फ विष्णु सिंहले प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरेका थिए । उनीहरूले सम्बन्धित कक्षा तथा तहका लागि आवश्यक प्रश्नहरू पावरपोइन्टमार्फत प्रस्तुत गरी प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरेका थिए । उक्त जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख गौतम तामाङले दिए ।

यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा विज्ञान विषयप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै ज्ञान, तार्किक क्षमता, तत्काल निर्णय गर्ने क्षमता र समूहमा मिलेर कार्य गर्ने भावनाको विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

  • २० कार्तिक २०८३, शुक्रबार २१:२९ प्रकाशित