सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ, चार जनाको खोजी जारी

केन्द्रभाग मिडिया

डोल्पा ।

जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर फरार भएका थप दुई जना कैदी लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका छन् ।

कात्तिक १४ गते बिहान ०६ः०० बजे कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा आज त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकायर जिल्ला जाजरकोट, नलगाड नगरपालिका–९ घर भएका नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन् ।

यसअघि हिजो जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना पक्राउ परेका थिए ।

अन्य चार कैदीबन्दीको खोजी भइरहेको छ ।

  • १८ कार्तिक २०८३, बुधबार १०:२२ प्रकाशित