बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ ।

भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको बन्दीको निवेदन यसअघि सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा गत कात्तिक १३ गते हेर्न नभ्याइनेमा राखिएको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टलाई विशेष अदालतले असार ३ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई एकै दिन पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध असोज ७ गते सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो ।

यसअघि असोज ८ मा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत असोज ८ मा तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लगायतका नाममा आदेश जारी गरेको थियो ।

  • १८ कार्तिक २०८३, बुधबार १२:१३ प्रकाशित