काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि क्रिकेटको उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ । क्रिकेट मैदानमा खेलाडीले देखाउने जोश, दर्शकको उत्साह र समर्थकको भावनालाई संगीतमार्फत जोड्ने उद्देश्यले एन्थम तयार पारिएको हो ।
क्रिकेटप्रति नेपाली दर्शकमा बढ्दो आकर्षणलाई लक्षित गर्दै सार्वजनिक गरिएको एन्थमले खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ । मैदानमा ब्याट र बलबीच हुने प्रतिस्पर्धादेखि दर्शकदीर्घामा गुञ्जिने हुटिङसम्मका भावनालाई गीतमा समेटिएको छ।
एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंकले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा कम्पनी जोडिएको छ । पोखरा एभेन्जर्ससँग भने खेलाडीको जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ ।
प्रतियोगितामा विभिन्न टोलीसँग जोडिएको कम्पनीले यसपटक संगीतमार्फत समेत क्रिकेटप्रेमीमाझ आफ्नो उपस्थिति विस्तार गर्न खोजेको हो ।
सार्वजनिक एन्थममा युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ । गीतको संगीत सिर्जना र संयोजन ब्लुस (सुरज शाही) ले गरेका हुन्। एन्थमको निर्माण एनएफटीपी टोलीले गरेको कम्पनीले जनाएको छ।
विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको हो। प्रत्येक बलसँगै बढ्ने उत्सुकता, चौका–छक्कामा दर्शकले मनाउने खुसी र आफ्नो टोलीको जितमा समर्थकले अनुभव गर्ने गौरवलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।
कम्पनीका अनुसार एक्स्ट्रिम एन्थम केवल सांगीतिक प्रस्तुति मात्र नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक अभियानसमेत हो। यसले खेलाडीको जित्ने अठोट, समर्थकको अटुट विश्वास र क्रिकेटप्रतिको साझा प्रेमलाई अभिव्यक्त गरेको छ।
नेपाली क्रिकेटमा व्यावसायिक प्रायोजनको दायरा विस्तार भइरहेका बेला कम्पनीले खेलकुदसँगै संगीतलाई पनि प्रवर्द्धनको माध्यम बनाएको छ । एन्थममार्फत क्रिकेटको माहोललाई थप जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।
‘एक्स्ट्रिम एन्थम’ कम्पनीको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिने जनाइएको छ ।












