बेगनासमा माछा महोत्सवदेखि देउसी भैलोसम्म,पर्यटन प्रवर्धनको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।
स्थानीय माछाको बजार विस्तार, बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धन र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित पोखरामा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ । आगामी  १३ कात्तिक  देखि २३ कात्तिकसम्म  बेगनास ताल किनारमा सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादन, पर्यटन व्यवसाय र सांस्कृतिक पहिचानलाई एकसाथ प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ मा आयोजना हुने महोत्सव होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजना गर्न लागेको हो । महोत्सवमा स्थानीय माछाका परिकारको प्रवर्द्धनदेखि देउसीभैलो संस्कृतिको संरक्षण र पर्यटकीय स्थलको प्रचारप्रसारसम्मका कार्यक्रम समेटिनेछन् ।

शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको तयारीबारे जानकारी दिएको हो । एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवलाई व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताए। उनका अनुसार महोत्सवमा स्थानीय माछाका विभिन्न प्रजाति तथा मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ।

बेगनास ताल र आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकको आगमन बढाउने तथा स्थानीय होटल र रेस्टुरेन्टको व्यवसाय विस्तार गर्ने लक्ष्यसमेत महोत्सवले लिएको लामिछानेले बताए। स्थानीय उत्पादनको बजार विस्तारसँगै क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव उपयोगी हुने उनको विश्वास छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्र रहेका आठवटै तालको सम्भावना पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्नुपर्ने बताए । तालहरूको विशेषताअनुसार संरक्षण र प्रवर्द्धन गर्न सके पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो। एउटा ताललाई जलक्रीडा केन्द्रका रूपमा विकास गर्न सके पानीमा आधारित गतिविधिमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए। पर्यटन व्यवसायीबीच सहकार्य र एकता बढाएर समग्र कास्कीको पर्यटन विकासमा योगदान दिनुपर्नेमा पनि उनले जोड दिए ।

एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीले २०७१ सालदेखि सुरु भएको फिस फेस्टिभल पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म आयोजना गर्न नसकिएको बताए। कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै स्थानीय माछाका परिकारको प्रवर्द्धन, परम्परागत देउसीभैलो संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले छैटौँ संस्करण आयोजना गर्न लागिएको उनले स्पष्ट पारे ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादन तथा रैथाने खानाको प्रवर्द्धनले पर्यटन विकासमा सहयोग पुग्ने बताए। यस्ता महोत्सवले पर्यटकको बसाइ अवधि बढाउन र लेखनाथ क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न मद्दत गर्ने उनको भनाइ थियो । स्थानीय माछाका परिकार र रैथाने खानाको प्रवर्द्धनमा महानगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै उनले उत्पादन, बजार र पर्यटनलाई जोडेर अघि बढ्नुपर्ने बताए ।

महोत्सव सञ्चालनका लागि करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको एसोसिएसनकी सचिव शक्तिश्री कोइरालाले जानकारी दिइन् । उनका अनुसार महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टलबाट प्राप्त हुने आम्दानीलगायत स्रोतबाट खर्च व्यवस्थापन गरिनेछ । महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर र बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको उनले बताइन् ।

कसमस इन्टरनेसनल कलेजकी युनिट प्रमुख प्रभा भुजेलले पर्यटन क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न शैक्षिक संस्था तयार रहेको बताइन्। महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र गोर्खा ब्रुअरी नेपाललगायत सरकारी तथा निजी क्षेत्रका निकायको सहयोग रहने आयोजकले जनाएको छ ।

स्थानीय माछाका प्रजातिलाई ब्रान्डका रूपमा स्थापित गर्ने, परम्परागत नेपाली गीत–संगीतको संरक्षण गर्ने र बेगनास क्षेत्रको पर्यटन व्यवसायलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो ।

  • २४ आश्विन २०८३, शनिबार २२:११ प्रकाशित