काठमाडौं ।
बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गुमेको छ । घटनामा अन्य ३ जना बेपत्ता भएका छन् । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।
उनका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोराको पहिरोमा पुरिएर ज्यान गुमेको हो । मृत्यु हुनेमा मनोज, मुकेश र निसान विक छन् ।
यसैगरी पाल्पामा पनि पहिरोमा परेर दुईको ज्यान गुमेको छ । अन्य तीन जना बेपत्ता छन् । माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको ज्यान गुमेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परेर ज्यान गुमेको हो।
दुवै जनाको शव पहिरोबाट निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ। पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको छ।
घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका प्रहरीले जनाएको छ। उनीहरूको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।














