पोखरामा आजदेखि नोमाड्स बेसक्याम्प सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म, पर्यटन तथा नयाँ पुस्ताको काम संस्कृतिलाई जोड्ने उद्देश्यले नोमाड्स बेसक्याम्प २०२६ आजदेखि सुरु भएको छ । सेप्टेम्बर २५ देखि २७ मा आयोजना हुने कार्यक्रममा डिजिटल नोमाड, उद्यमी, स्टार्टअप संस्थापक, प्रविधि विज्ञ, क्रिएटर, रिमोट वर्कर, पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ।

कार्यक्रम पोखरा पर्यटन परिषद् र साराङ सर्भिसेस प्रालिको संयुक्त आयोजनामा वाइएनएफ पोखरा च्याप्टरको साझेदारीमा आयोजना भएको हो । आर्टिफिसियल इन्टेलिजेन्स, प्रविधि, स्टार्टअप, डिजिटल उद्यमशीलता, मोबाइल गेमिङ, सिर्जनशीलता, युवा सशक्तीकरण लगायतका विषयमा प्रस्तुति, छलफल तथा अन्तरक्रिया हुनेछ।

दोस्रो दिन ध्यान, योग, पर्यटन तथा प्रविधिसम्बन्धी सत्रसँगै सहभागीलाई मादी लगेर ७ किलोमिटर र १२ किलोमिटरका रनिङ ट्र्याकसहित ‘मादी रन’ तथा एडभेन्चर एक्सपेरियन्समा भाग लिने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए ।

अन्तर्राष्ट्रिय पर्यटन, वाइल्डरनेस तथा एक्सपेरियन्सियल टुरिज्म, ग्लोबल मोबिलिटी, डेस्टिनेसन डेभलपमेन्ट, डिजिटल नोमाडिज्म, आतिथ्य तथा रिजनरेटिभ टुरिज्मका विषयमा प्रस्तुति तथा छलफल हुनेछन्।

यसका साथै पर्यटन तथा उद्यमशीलता सम्बन्धी प्यानल छलफल र संस्थागत कार्यशाला पनि आयोजना गरिने आयोजक पक्षले जनाएको छ । नोमाड्स बेसक्याम्पले पोखरालाई परम्परागत पर्यटकीय गन्तव्यका रूपमा मात्रै नभई काम, उद्यमशीलता, प्रविधि, सिर्जनशीलता र लामो समय बसोबासका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे संवाद र सहकार्यको वातावरण तयार गर्नेछ।

कार्यक्रममार्फत स्थानीय पर्यटन व्यवसाय, होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, समुदाय तथा अन्य सेवा प्रदायकलाई नेपाल तथा विदेशबाट आउने नयाँ पुस्ताका यात्रु, डिजिटल नोमाड र रिमोट प्रोफेसनलसँग जोड्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

  • ९ आश्विन २०८३, शुक्रबार १६:५५ प्रकाशित