पोखरा ।
चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन ब्रान्ड नेभोअन्तर्गतको इलेक्ट्रिक एसयूभी नेभो क्यू ०५ शुक्रबार पोखरामा सार्वजनिक हुने भएको छ । नेपालमा चाङ्गानका लागि अधिकृत डिलर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले पोखरामा सार्वजनिक कार्यक्रमसँगै चारदिने टेस्ट ड्राइभ आयोजना गर्न लागेको हो ।
पोखराको चाउथेस्थित डिपल पोखरा सोरुममा असोज ३ देखि ६ गतेसम्म टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन हुनेछ । ग्राहकले उक्त अवधिमा नेभो क्यू ०५ प्रत्यक्ष रूपमा चलाएर यसको प्रविधि, डिजाइन र कार्यक्षमताको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
नेभो क्यू ०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार १२० किलोवाटको विद्युतीय मोटरबाट चल्ने यो एसयूभीले एनईडीसी परीक्षणअनुसार एकपटकको चार्जमा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट घण्टा रहेको छ ।
क्यू ०५ मा ५१.९ किलोवाट घण्टाको क्याटिएल एलएफपी ब्याट्री प्रयोग गरिएको छ । गोल्डेन सिल्ड २.० ब्याट्री प्रणालीसँग एकीकृत गरिएको यसमा ३ सी फास्ट चार्जिङ प्रविधि र अधिकतम १६२ किलोवाटसम्मको डीसी चार्जिङ क्षमता रहेको कम्पनीले जनाएको छ । ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १५ मिनेट लाग्ने दाबी पनि गरिएको छ ।
शहरी प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको क्यू ०५ मा २ हजार ७३५ मिलिमिटरको ह्वीलबेस, पछाडिका सिटमा रिक्लाइन सुविधा र ५४० लिटरको बुट स्पेस रहेको छ । कम्पनीका अनुसार यसको डिजाइन चाङ्गानको विश्वव्यापी डिजाइन टोलीले विकास गरेको हो र डिजाइनले ‘गोल्डेन ए डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।
चाङ्गान नेभोका अनुसार सन् २०२६ अगस्टको अन्त्यसम्म क्यू ०५ को विश्वव्यापी बिक्री १ लाख २५ हजारभन्दा बढी युनिट पुगेको छ । चीनमा कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चार महिनासम्म अग्रता हासिल गरेको पनि कम्पनीको दाबी छ ।
एमएडब्लू वृद्धि अटोकर्प चाङ्गान अटोमोबाइल तथा नेपालमा डिपल, नेभो र एभाटार ब्रान्डको अधिकृत डिलर हो ।













