मुस्ताङमा यही भदौ ३० र ३१ गते हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
विश्वकै चिन्ता र चासोको विषय बनिरहेको जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायम पुर्याएको असरलगायतका विषयमा साझा अवधारणा तयार गर्न स्थानीय घरपझोङ गाउँपालिकाले जलवायु सम्मेलनको तयारी गरेको हो ।
हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धिले नेपालका हिमाली, पहाडी र तराईका जिल्लाले भोग्नुपरेका जलवायु सङ्कट र त्यसको समुचित व्यवस्थापनका विषयमा सम्मेलनमा गहन बहस हुनेछ ।
जलवायु परिवर्तनबाट भएको असरबाट नेपालमा पुर्याइरहेको क्षति र भावि दिनमा पुर्याउनसक्ने जोखिमलगायत विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सम्मेलन आयोजना गर्न लागिएको उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।
सम्मेलनमा हिमाल, पहाड र तराई क्षेत्रले भोग्नुपरेका जलवायु सङ्कटका समस्या र चुनौतीको उजागर गरिने उनले बताए । सम्मेलनमा पालिका प्रमुख एवं प्रतिनिधिलाई सहभागी हुन ७५३ वटै स्थानीय तहलाई पत्रचार गरिएको छ ।
त्यसमध्ये ३५२ वटा पालिकाबाट सम्मेलनमा सहभागी हुने लिखित तथा मौखिक जानकारी प्राप्त भएको अधिकृत बस्नेतले जानकारी दिए । त्यस्तै, ७७ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, सातवटै प्रदेशका वन, पर्यटन र वातावरण हेर्ने सचिवलाई सम्मेलनमा सहभागी हुन यसअघि नै निमन्त्रणा पठाई सकिएको छ ।
गाउँपालिका अनुसार पहिलो पटक मुुस्ताङमा आयोजना हुने उक्त सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी तथा जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिसमेत गरी दुई हजार बढी व्यक्तिको सहभागिता रहनेछ ।
यस्तै, नगरपालिका महासङ्घ गाउँपालिका महासङ्घ र जिसस महासङ्घ लगायतलाई पनि सम्मेलनमा आमन्त्रण गरिएको छ ।सम्मेलनमा सहभागी तथा अतिथिको आवास तथा भोजनको व्यवस्थापनका लागि गाउँपालिकाले पालिकाभित्रका साना र ठूला गरी १०० भन्दाबढी होटल दुई दिनका लागि बुकिङ गरिसकेको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले भदौ ३० गते उद्घाटन गर्ने त्यस सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयसमेत विशेष अथितिका रुपमा सहभागी हुनेछन् ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार सम्मेलनमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ,डब्लु डब्लु एफ, प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय सङ्घ , त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्र विभाग र वातावरण विज्ञ केन्द्रीय विभाग, राष्ट्रिय विपद् जोखिम तथा पुनर्निर्माण प्राधिकरण र कृषि वन तथा पर्यावरण मन्त्रालयलगायतका विज्ञ टोलीको सहभागिता रहनेछ ।
सम्मेलनको पहिलो दिन उद्घाटन र जलवायुसँग सम्बन्धित विषयमा केन्द्रित रही चरणबद्ध समूहगत छलफल हुनेछ । सम्मेलनमा जलवायुसँग सम्बन्धित सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असरसम्बन्धी फोटो प्रदर्शनी गरिने छ ।
सम्मेलनमा स्थानीयस्तरमा पाइने कृषि तथा पशुपालनसम्बन्धी उत्पादनका ५० भन्दाबढी प्रदर्शनी कक्ष राखिने जनाइएको छ ।त्यस्तै, दोस्रो दिन ७५३ वटै स्थानीय तह तथा जलवायु विज्ञले पेस गरेका अवधारणा पत्रलाई समावेश गरी ऐतिहासिक घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझा घोषणापत्र जारी गरिने भएको छ ।
पछिल्लो समय गत भदौ १० गते जलवायु परिवर्तनका असरका कारण हिमपात फुटेर रसुवाको भोटेकोशीमा बाढीले पुर्याएको ठूलो धनधनको क्षतिका सन्दर्भमा मुस्ताङमा विश्वसमुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले सम्मेलन प्रभावकारी हुने विश्वास गरिएको छ ।
पछिल्लो पाँच वर्ष यता हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनले कृषि, पर्यटन, पशुपालन, धर्मसंस्कृति, पर्यावरण, जैविक विविधता र वातावरणीय क्षेत्रहरुमा प्रतिकूल असर पुगेको छ । रासस











