भोलि बस्ने प्रतिनिधि सभा बैठकमा कानुनमन्त्रीले ३ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची

केन्द्रभाग मिडिया

काठमाडौं।

सङ्घीय संसद्, प्रतिनिधि सभाको बुधबारका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ३ विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको भदौ २४ गते बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा मन्त्री गौतमका तीन वटा मुख्य एजेन्डा समावेश छन् ।

महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सम्भावित कार्यसूची अनुसार बुधबारको बैठकमा कानुन मन्त्रालयसँग सम्बन्धित कार्यसूची राखिएका हुन्।

सम्भावित कार्यसूची अनुसार मन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । अनुमति प्राप्त भए लगत्तै सोही बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यक्रम पनि कार्यसूचीमा छ ।

मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भनी सदन समक्ष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै एसियाली विधायिकी संस्थाहरूको परिषद् सम्बन्धी प्रस्ताव पनि मन्त्री गौतमले पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। यसअन्तर्गत उनले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

  • २३ भाद्र २०८३, मंगलवार १५:२२ प्रकाशित