पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ ।

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेको हो ।  बाढीपछि बेपत्ता भएकाको खोजी तथा प्रभावितको उद्धार र राहतका लागि सरकारी निकाय तथा विभिन्न संघसंस्था परिचालन भएका छन् । यही अवस्थामा पीडितको उद्धार र खोजी कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले राहत कोषमा रकम प्रदान गरेको जनाएको छ ।

कम्पनीका अध्यक्ष ऐनकुमार साईले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितका लागि सहयोग गरिएको बताए । विपद्को समयमा निजी क्षेत्रले पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्नुपर्ने भएकाले कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेको उनको भनाइ छ । ‘बाढीबाट प्रभावितको उद्धार तथा खोजी कार्यमा केही भए पनि सहयोग पुगोस् भनेर कम्पनीको तर्फबाट प्रधानमन्त्री उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ जम्मा गरेका हौँ,’ अध्यक्ष साईले भने ।

उनले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत र उद्धारको आवश्यकता पर्ने भएकाले उपलब्ध स्रोतसाधनलाई त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए । बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला व्यवसायसँगै सामाजिक दायित्व निर्वाह गर्नु निजी क्षेत्रको पनि जिम्मेवारी भएको उनको भनाइ छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यातायात सेवा सञ्चालनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सहयोग गर्दै आएको जनाएको छ । यसपटक रसुवाका बाढीपीडितलाई लक्षित गरेर प्रधानमन्त्री उद्धार तथा राहत कोषमार्फत सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

  • १९ भाद्र २०८३, शुक्रबार १४:११ प्रकाशित