काठमाडौं ।
अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ।
अमेरिकी सरकारका अनुसार २०२६ अगस्ट २६ मा आएको ठूलो बाढीपछि उक्त क्षेत्रमा सडक तथा यातायात र सञ्चार सेवा प्रभावित हुनुका साथै खोज तथा उद्धार र पुनर्स्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढी र पहिरोको सम्भावनासमेत रहेको जनाइएको छ।
अमेरिकाले उक्त प्रभावित क्षेत्रलाई ‘लेभल–४’ यात्रा नगर्नुहोस्’ श्रेणीमा राखेको छ। प्रभावित क्षेत्रमा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरू पनि समेटिएका छन्।
अमेरिकी सरकारले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान सुझाव दिएको छ। नेपाली अधिकारीले दिएको उद्धार वा सुरक्षित स्थानतर्फ जाने आदेश पालना गर्न पनि आग्रह गरिएको छ।
हराइरहेका व्यक्तिको खोजी गर्नसमेत विपद् प्रभावित क्षेत्रमा आफैं प्रवेश नगर्न र कुनै पनि कारणले उक्त क्षेत्रमा यात्रा नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ।
नेपाल यात्रा गर्ने अमेरिकी नागरिकलाई सुझाव
नेपाल यात्रा गर्ने निर्णय गरेमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट महत्त्वपूर्ण सूचना तथा आपत्कालीन अलर्ट प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोमेन्ट प्रोग्राममा दर्ता हुन, नेपालको सुरक्षा रिपोर्ट समीक्षा गर्न भनेको छ ।












