काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ ।
उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।
‘नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ,’ समाचारमा भनिएको छ ।
सशस्त्र सीमा बल ९एसएसबी० को उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ ।उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको समाचारमा उल्लेख छ ।
‘शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ,’ समाचारमा भनिएको छ, ‘अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।’











