काठमाडौं ।
भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाएको छ।
मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई एक्टिभेट गरी उच्चस्तरीय छलफल र अस्पतालहरूसँगको समन्वयलाई तीव्रता दिइएको छ। बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्थानीय तथा केन्द्रीय स्तरका स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन स्वास्थ्य सेवा पुर्याउन राष्ट्रिय ट्रमा सेन्टरका ६ जना चिकित्सक सम्मिलित ‘इमरजेन्सी मेडिकल टिम गठन गरी त्रिभुवन विमानस्थल पठाइसकिएको छ। उक्त विशेषज्ञ टोलीलाई हवाई मार्गमार्फत प्रभावित क्षेत्र रसुवातर्फ पठाउने तयारी भइरहेको छ।
हालसम्म उद्धार गरिएका दुई जना घाइतेको रसुवाको धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित क्षेत्र नजिकका त्रिशुली अस्पताल र धादिङका अस्पतालहरूलाई पनि उपचार र समन्वयका लागि अलर्ट गराइएको छ।
स्थानीयस्तरमा प्राथमिक उपचारपछि थप उपचार वा जटिल केसहरू रिफर गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।
प्रवक्ता डा.अधिकारीका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पाटन अस्पतालका इमर्जेन्सी विभागहरूलाई पूर्ण रूपमा सेटअप गरी सतर्क गराइएको छ। साथै उपत्यकाका अन्य हब अस्पताल, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई पनि जुनसुकै समयमा सेवा दिन सक्ने गरी ‘स्ट्यान्डबाइ’ राखिएको छ।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रका अस्पतालहरूसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्दै उद्धार गरिएका घाइतेहरूको काठमाडौँमा द्रुत उपचार सुनिश्चित गर्ने जनाएको छ।
हाल काठमाडौँमा घाइतेहरू आइपुगेको आधिकारिक जानकारी प्राप्त भइनसकेको भए पनि उद्धार कार्य तीव्र पारिएकाले सम्भावित चापलाई धान्न मन्त्रालयले स्वास्थ्य सेवा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। आवश्यकता परेमा थप अस्पतालहरूलाई पनि उपचार प्रक्रियामा जोड्दै लैजाने रणनीति मन्त्रालयको रहेको छ।











