काठमाडौं ।
खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् ।यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन् । १४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
सोमबार प्रतिनिधिसभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय समितिमा पठाउँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।जहाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थ सम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न खानी तथा खनिज पदार्थ विधेयक ल्याएको हो ।
खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने उदेश्य राखिएको यो विधेयकमा ६३ वटा दफा प्रस्तावित छन् ।
हाल खानी तथा खनिज पदार्थ ऐन २०४२ प्रचलनमा छ । यसलाई खारेज गरेर समयाअनुकूल र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरूप अधिकार विकेन्द्रीकृत गर्ने गरी ल्याइएको विधेयकमा साधारण निर्माणमुखी खनिज, रणनीतिक तथा सामरिक महत्त्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थ सम्बन्धी विशेष व्यवस्था छन् ।











