काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा सरकारका नाममा एकै दिन तीनवटा ‘रुलिङ’ गरेका छन्।
सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्।
सोमबारको बैठकमा पहिलो रुलिङ सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन्।
‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुखले बैठकमा भने। नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए।
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाएका थिए। उनले साउन २२ गते नै दिएको ९ दिने अल्टिमेटम सकिँदा पनि सरकारले जवाफ नदिएको भन्दै आक्रोश व्यक्त गरे। सांसद शर्माले सरकारबाट लिखित प्रतिबद्धता वा जवाफ नआउन्जेल संसद्मै उभिइरहने अडान लिएपछि सभामुखले यसबारे ३ दिनभित्र सदनलाई जवाफ दिन सरकारलाई दोस्रो रुलिङ गरे ।
त्यसै गरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाइन्। ‘अर्थ मन्त्रालयले बजेट छुट्याएको छ तर परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश मारिसके,’ उनले भनिन्, ‘सरकारले कि यिनीहरू नेपाली नागरिक होइनन् भन्नुपर्यो, नत्र जवाफ नआउन्जेल म उभिइरहन्छु।’ सांसद तामाङको मागपछि सभामुख अर्यालले यस विषयमा पनि ३ दिनभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
सांसदहरूको निरन्तरको विरोध र सदनको गतिरोध अन्त्य गर्न सभामुखले एकै दिन यी तीनवटा महत्त्वपूर्ण विषयमा सरकारलाई रुलिङ गरेका हुन् ।











