पोखराका मेयर आचार्य र बङ्गलादेशका फोटो पत्रकार संघका टोलीबिच भेटवार्ता

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा आएको टोलीले भेटवार्ता गरेको छ ।

भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन आग्रह गरे ।

पोखरा फ्लाई दुबईमार्फत विश्वका चर्चित गन्तव्यहरूसँग जोडिने क्रममा रहेको उल्लेख गर्दै उनले बङ्गलादेशबाट पोखरासम्म सम्भावित हवाई उडानका लागि बङ्गलादेश सरकारसमक्ष आवश्यक पहल तथा समन्वय गर्न आग्रह गरे ।

भेटका क्रममा बङ्गलादेशी टोलीले पोखराको प्राकृतिक सौन्दर्य र वातावरण आफूहरूलाई निकै आकर्षक लागेको बताएको थियो । उनीहरूले पोखराको सुन्दरता तथा यहाँ प्राप्त न्यानो आतिथ्यताको सन्देश बङ्गलादेशमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे छन् ।

टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिनसहित महासचिव बाबुल तालुकदार, पूर्व अध्यक्ष ए।बी।एम। रफिकुर रहमान, वरिष्ठ सदस्य काजी रौनक हुसेन, पूर्व महासचिव नुरुद्दिन अहमद, पूर्व अध्यक्ष शफी उद्दिन अहमद बिटु, कार्यकारी सदस्य महबुब हुसेन खान नोबिन, कोषाध्यक्ष नासिम शिख्देर, वरिष्ठ सदस्य सैयद जाकिर हुसेन र बुलबुल अहमद, चट गाउँ जिल्ला शाखाका सदस्य मोहम्मद मिन्हाज उद्दिन तथा कक्स बजार जिल्ला शाखाका अध्यक्ष नुरुल इस्लाम हेलाली सहभागी थिए।

भेटवार्तामा राष्ट्रिय फोटो पत्रकार सङ्घका अध्यक्ष प्रदीपराज वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापा, सुनिल पाण्डे र दुर्गाप्रसाद हुमागाईँ लगायतको सहभागिता रहेको थियो ।

यसअघि टेलीलाई नगर प्रमुख आचार्यले ढाका टोपी लगाएर सम्मान गरेका थिए । पोखरा आउने विदेशी प्रतिनिधि तथा पाहुनामार्फत नेपाली संस्कृति र पोखराको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन ‘टोपी कूटनीति’ प्रभावकारी माध्यम बन्न सक्ने विश्वास गरिएको छ ।

  • १ भाद्र २०८३, सोमबार १५:४४ प्रकाशित