स्याङ्जा।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले गतवर्ष खानेपानी योजनामा विद्युत उपभोग गरेवापत एक करोड भन्दा बढी नगद अनुदान दिएको छ । आर्थिक वर्ष २०८२-८३ मा लिफ्टिङ् खानेपानी योजनालाई एक करोड एक लाख ९५ हजार विद्युत महशुल अनुदान दिएको हो ।
स्याङ्जाका ९९ योजनालाई ५९ लाख ८४ हजार रुपैयाँ र कास्कीका ३४ वटा योजनालाई ४२ लाख १० हजार भन्दा बढी अनुदान दिएको कार्यालयले जनाएको छ । प्रदेश सरकारको लिफ्टिङ् तथा भूमिगत खानेपानी योजनालाई विद्युत महशुलमा अनुदान दिने कार्यक्रमअन्र्तगत स्याङ्जा र कास्कीमा संचालित एक सय ३३ योजनालाई अनुदान दिइएको छ ।
लिफ्टिङ् तथा भूमिगत खानेपानी आयोजना विद्युत महशुल अनुदान कार्यविधी, २०७९ का आधारमा विद्युतको प्रयोगबाट संचालित योजनामा खपत युनिटका आधारमा अनुदान दिएको कार्यालयका प्रमुख किरण पौडेलले जनाए । महशुल अनुदान पाएका योजनाबाट स्याङ्जाका २० हजार र कास्कीका १३ हजार गरी झण्डै ३३ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित भएको कार्यालयले जनाएको छ ।
मासिक २५ हजार रुपैयाँसम्म विद्युत खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको छ । मासिक २५ हजारदेखि ४० हजारको महशुलमा ७५ प्रतिशत, ४० हजारदेखि ६० हजारसम्मको विद्युत खपतमा ५० प्रतिशत र ६० हजारदेखि ८० हजारसम्म महशुल खपत गर्ने योजनालाई २५ प्रतिशत अनुदान दिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
त्यस्तै मासिक ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनालाई १० प्रतिशत मात्रै अनुदान उपलब्ध गराईएको छ । ठूला योजना अर्थात तीन स्टेप वा सोभन्दा बढी स्टेप पानी तान्ने योजना र प्राविधिक जटिलता भएका योजनाको हकमा भने ४० हजारको ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारको ४० प्रतिशत र ८० हजार रुपैयाँ भन्दा बढी महशुल खपत गर्ने योजनालाई १५ प्रतिशत अनुदान दिइएको छ ।
स्याङ्जा र कास्की गरी दुई जिल्लाका योजना कार्यान्वयन गर्दै आएको कार्यालयले स्याङ्जातर्फ २३३ र कास्कीमा १४४ योजनामा ९१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । गएकै वर्ष बहुवर्षीय ५१, क्रमागत दुई, मर्मततर्फका ६३ र संध सशर्तका एक गरी ११७ योजना निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा ‘एक घर, एक धारा’ अनियानअन्र्तगत तीन हजार ५ सय खानेपानीका नयाँ धारा जडान गरिएको छ । यस अवधिमा एक सय ३ वटा खानेपानीका टयांकी निर्माण भएको कार्यालयले जनाएको छ । नयाँ धारा जडानसँगै स्याङ्जाका र कास्कीका झण्डै १५ हजार सर्वसाधारणमा खानेपानीको सुविधा विस्तार भएको डिभिजन कार्यालयका इन्जिनियर कमल बरालले जानकारी दिए ।












