पोखरा महानगरपालिकाले भोलिदेखि नगरबासीलाई विद्युतीय चुलो वितरण गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको पञ्चवर्षिय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतीय चुलो प्रदान गरिने भएको छ ।

महानगरपालिका भित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्यसहित सोमबारदेखि पोखरा २२ बाट विद्युतीय चुलो वितरणको अभियान सूरुवात गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार सोमबार वडा नं. २२ का करिब २ सय परिवारलाई विद्युतीय (इन्डक्सन) चुलो वितरण गर्न लागिएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सँगको सहकार्यमा वडा नं.२२ का कालाबाङ्, भुम्दी लगायतका विभिन्न ५ वटा टोलमा बसोबास गर्ने वडावासीहरुलाई उक्त चुल्हो वितरणको व्यवस्थापन गरिएको वडा अध्यक्ष हिमलाल बरालले बताए । उनका अनुसार अभियानका क्रममा वडाका करिब २ हजार बढि चुलो वितरण गरिने छ ।

पहिलो चरणमा २ सय चुल्हो वितरण गर्न लागिएको हो । खाना पकाउने ग्याँसको अभाव भइरहेको बेला उपलब्ध गराउन लागिएको इन्डक्सन चुल्होले नगरवासीहरुलाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ ।

सन् २०२९ सम्ममा पोखरा महानगरका २५ प्रतिशत घरमा विद्युतीय चुलोको पहुँच सुनिश्चित गर्ने नगर उर्जा योजनाको लक्ष्य रहेको छ । जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले यो नगर ऊर्जा योजना तयार गरेको हो ।

महानगरले विसं २१०० ९सन् २०४३० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य अनुसार ‘दक्ष र दिगो ऊर्जा मार्फत समुन्नत पोखरा’ को सोच र ‘ऊर्जा स्वच्छता र दक्षता मार्फत कार्बन तटस्थ पोखराको निर्माण’को ध्येय तय गरिएको छ ।

पोखराको वर्तमान ऊर्जा उपभोगका हिसाबले खाना पकाउनका लागि प्राथमिक रूपमा प्रयोग भएका इन्धनमा एलपीजीको हिस्सा ८४.२५ प्रतिशत छ भने बायोग्यास ५.२५ प्रतिशत, काठ दाउरा १०.२७ प्रतिशत र विद्युतको मात्र ०.२३ प्रतिशत छ ।

घरायसीस्तरमा एलपीजीको निर्भरता ९८.४५ प्रतिशत पुगेको छ भने व्यावसायिक क्षेत्रमा यो आँकडा ८४.२५ प्रतिशत छ । वडागत रुपमा दाउराको प्रयोग वडा नम्बर २८ मा सबैभन्दा बढी ६९.४२ प्रतिशत र वडा नम्बर ९ मा सबैभन्दा कम ०.६२ प्रतिशत छ ।

  • ३१ श्रावण २०८३, आईतवार १३:०४ प्रकाशित