जाजरकोट ।
अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ ।
हिजो साँझ ५ः३० बजे आएको उक्त पहिरोमा परी जिल्ला अस्पताल जाजरकोटमा उपचार पश्चात् नेपालगन्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । यसैगरी बेपत्ता ४ जना मध्य सोही ठाउँ बस्ने ५४ वर्षीय उमा सिंह खत्री र ८३ वर्षीय रति खत्रीको शव खोजी कार्यको क्रममा फेला पारिएको छ ।
सोही ठाउँ बस्ने ६२ वर्षीय राम बहादुर शाही, ४५ वर्षीय सिद्धि बहादुर कामी, ५८ वर्षीय कमला कार्की, २३ वर्षीय अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीय सुन्तली चदरा र ६१ वर्षीय भद्रकला कार्की घाईते भएका छन् । घाईतेहरुमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ ।
उक्त पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० वर्षीय भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीय हरिस बिक अझै बेपत्ता छन् । हरिस बिक पहिरो पश्चात् घरबाट निस्किएकोमा सम्पर्क विहिन भएका हुन् । खोज तथा उद्धारको लागि परिचालित टोलीले उनीहरुकोे खोजीकार्य जारी राखेको छ ।











