पोखरा ।
अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ ।
अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो ठाउँको दुईवटा पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए । पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने मेटल पुल खोलाले बगाएको हो ।
पुल बगाएपछि मन्दिर परिसरमा फसेका तीन व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका- १८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका(८ मा रहेको बिरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय कानिर्माण गिरीलाई सकुशल उद्धार गरिएको हो ।

शुक्रबार बिहान सवा २ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएपछि उनीहरू मन्दिरमै फसेका थिए ।
उनीहरूलाई शुक्रबार बिहान सवा ८ बजे सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट गएको रोप रेस्क्यु र गोताखोर सहितको संयुक्त टोलीले सकुशल उद्धार गरेको थापाले बताए ।












