काठमाडौं ।
पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको बताएका छन्।
आज बिहान सातै बजे प्रहरी टोली पुगेको थियो । चार–पाँच जना प्रहरीहरु कार्यालयभित्र र अरु बाहिर बसेका थिए । भित्र पसेका प्रहरीहरुले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस संकलन गरेको बताइएको छ ।
पत्रकार किशोर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।











